हरेक प्रदेशमा चन्द्रागिरि जस्तै पर्यटकीय गन्तब्य बनाउने योजना हो

Sharing This

नेपालको कर्पोरेट क्षेत्रमा उल्लेख्य योगदान गरेको व्यवसायिक समूह हो आईएमई ग्रुप । पछिल्लो समय विभिन्न प्रकारको व्यवसायमा हात हालेको यो समूहले सफलता पाउँदै जाँदा यसको व्यवासायिक पक्षलाई पछ्याउन् खोज्ने पनि धेरै छन् । पछिल्लो समय यही समूहले थानकोटमा सुरु गरेको पर्यटनको नयाँ प्रोडक्ट हो चन्द्रागिरि हिल्स प्रालि । जस अन्तगर्त हाल केबुलकारदेखि रिसोर्टसम्म सञ्चालनमा रहेको छ । नेपालको पर्यटनमा नयाँ प्रडक्ट ल्याएको र पर्यटकीय आकर्षण बनाउन सफल भएको यो समूहले गरेको गतिविधि उल्लेख्य छ । चन्द्रागिरिले पर्यटनमा पु¥याएको योगदान, नेपालकोे पर्यटन क्षेत्रमा रहेका अवसर, पर्यटन क्षेत्रमा आइएमई गु्रपको भावी योजना तथा विविध विषयमा टुरिजम टाइम्सले गरेको आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसँगको कुराकानीको सार :


चन्द्रप्रसाद ढकाल, अध्यक्ष आईएमई ग्रूप

अहिले चन्द्रगिरि नयाँ पर्यटकीय गन्तव्य बनेकोे छ । यसको अवधारणा कसरी आयो ?
वास्तवमा काठमाडौंमा यस्तो एकीकृत पर्यटकीय स्थानको खाँचो थियो । यसलाई पूरा गर्नुपर्छ भन्ने लागिरहेकै बेला हामीले मलेसियाको ग्यान्टिङ आइल्याण्ड हेरेका थियौं । त्यहाँ यस्तै डाँडोमा केवलकार, होटल, चिल्डे«न पार्क, क्यासिनोसहितको सबै गतिविधि हुने गरेको देख्यौं । त्यो सन् १९६५ अगाडि बनेको पूर्वाधार हो । यसलाई हामीले पर्यटकीय आकर्षक गन्तव्यको रूपमा लिएका थियौं । यस्तै किसिमको पर्यटकीय गन्तव्य काठमाडौंमा पनि आवश्यक छ भनेर चन्दा्रगिरिको अवधारणा अगाडि सारिएको हो ।

वास्तवमा लक्षित वर्ग पनि फरक–फरक बनाएर सेवा दिन चाहिं कसरी सम्भव देख्नुभयो ?
यसले नेपालमा आउने विदेशीलाई आकर्षण गर्ने तथा नेपाली तथा आन्तरिक पर्यटकलाई काठमाडौं नजिकको गन्तव्यको रूपमा विकास गर्न खोजिएको हो । यसमा फरक उमेर समूहका नेपाली सबैलाई मिल्ने हिसाबकै गन्तव्यको रूपमा विकास गरौं भन्ने भयो । यसअघि काठमाडौंका अन्य पनि एक दुई स्थान हेरिएको थियो । त्यो मध्ये चन्द्रागिरि अलि बढी उपयुक्त भएकोले सोही स्थानलाई रोजिएको हो । हामीले दिन खोजेको नै फरक समूहका र वर्गका लागि एउटै स्थानमा एकीकृत प्याकेज भएकोले सोही अनुसारको सेवा दिन सकियो ।

पछिल्लो समय पर्यटनको दायरा फराकिलो बनिरहेको अवस्थामा चन्द्रागिरिको बुझाई चाहिं के हो ?
यो त एउटा काठमाडौं केन्द्रित स्थान मात्रै हो । यो स्तरको पर्यटन पूर्वाधार हरेक प्रदेशमा हुनुपर्छ भनेर हामी लागिरहेका छौं । हाम्रो तयारी पनि हरेक प्रदेशमा एउटा चन्द्रागिरिजस्तै गन्तव्य बनाउने हो ।

कहाँ र कति समयभित्र भन्ने पनि तय भईसकेको हो ?
हामीले यसका लागि औपचारिक रूपमा प्रक्रिया अगाडि बढाउने काम सुरु गरेका छौं । वन, वातावरण, भौतिक पूर्वाधार, स्थानीय तहसहितको धेरै निकायबाट आवश्यक प्रक्रिया पु¥याउनु पर्ने भएकोले अलिकति समय भने लाग्छ । यसले गर्दा यति नै समयभित्र हुन्छ भन्ने चाहिँ छैन् । तर, हामीले केही स्थानमा जग्गा किन्ने, सरकारी जग्गाको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)गर्नेसहितको प्रक्रिया अगाडि बढाइरहेका छौं ।

सातै प्रदेशमा चन्द्रागिरिजस्तै केवलकारसहितको सुविधा बिस्तारकै अवधारणा नै हो ?
सबै क्षेत्रमा एकै प्रकारको हुन्छ भन्ने छैन् । तर, भू—बनोट र स्थान अनुसारको सुविधा भने अवश्य नै प्रयोग हुन्छ । नेपालमा धेरै धार्मिक स्थलहरू र पर्यटकीय डाँडाहरू धेरै भएकोले केबलकारसहितको रिसोर्ट सबैमा हुन्छ । यातायातको सुविधा नभएको ठाँउमा थप सुविधा राख्न गाह्रो हुन्छ । तराई क्षेत्रमा थप सहज हुन सक्छ । फन पार्क, स्तरीय होटल पनि राख्ने भन्ने हो । ठाँउ हेरेर के–के सुविधा राख्ने भन्ने हुन्छ ।

स्थान पहिचान भइसक्यो कि अध्ययनकै चरणमा छन् ?
हामीले केही स्थान हेरिसकेका छौं । जस्तो चितवनको गंैडाकोटमा हेरिएको छ । मौलाकालिका मन्दिरसम्म केवलकार उपयुक्त हुन सक्छ । बुटवल, वसन्तपुर, प्यूठान, कैलाली, पोखराको सिकलेसतर्फ पनि हामीले ठाँउ हेरेका छौं । यसका लागि हामीले लगानी सम्मेलनबाट यस्ता योजना सार्वजनिक गर्ने गरी हाम्रो योजना अगाडि सारेका छौं ।

त्यसो त लगानी सम्मेलनको शो–केशमा केवलकारका योजना पनि अटाउन सफल भएको छ नि ?
हामीले तीनवटा केवलकारको योजनालाई शो–केशमा राखेका थियौ । हामीले प्रक्रिया पु¥याउने र योजना अगाडि बढाउने काम सँगसँगै अगाडि बढाएका छौं । सबै प्रक्रिया पूरा भएपनि निर्माणमा जान सहज हुने गरी तयारी गरिरहेकोले पनि लगानी जुटाउन यसलाई शो–केशमा राखिएको हो ।

विदेशीबाट लिन खोजेको चाहिं के हो ?
हामीले विदेशीलाई लगानी सम्मेलनमार्फत हाम्रा प्रोजेक्ट देखाउने हो । यसमा विदेशीले आफ्नो उद्देश्य अनुसार अनुकुल भएका र मिलेका योजनामा लगानी गर्ने हुन । यस्तो सम्मेलनले तत्काल लगानी ल्याइहाल्ने भन्दा पनि यसले सहजीकरणको वातावरण सिर्जना गर्छ । विदेशीले लगानी गर्न खोजेका आयोजनासँग हामीले राखेका आयोजनाको उद्देश्य मिल्नुपर्छ भन्ने हो ।

पछिल्लो समय चन्द्रागिरिको सफलताको कारण के हो ?
एक तहको भिजन हुनुपर्छ भन्ने हो । सामान्यतया व्यवसाय सफल हुनुमा तीन वटा सिद्धान्त हुनुपर्छ । कुनै पनि व्यवसाय सफल हुन हामीले गर्ने व्यवसायबाट आम सर्वसाधारणले सेवा पाउनुपर्छ । राज्यलाई कर तिर्ने र विकास निर्माणमा सहयोग गर्ने हुनुपर्छ । तेस्रो पक्ष भनेको व्यवसाय नै हुनुपर्छ । व्यवसायिक वातावरण भएको अवस्थामा यसले काम गर्छ । तसर्थ यी तीन सिद्धान्तलाई आधार मानेर कुनै पनि काम गरे सफल भइन्छ ।

पछिल्लो समय पर्यटन क्षेत्रको जीडीपीमा योगदान हेर्ने हो भने निकै कम छ । यसलाई बढाउन के गर्नुपर्ला ?
पहिलो कुरा त पर्यटनको लागि आधारभूत पूर्वाधार राज्यले नै बनाउनुपर्छ । बाटो, पानी, बिजुलीको पूर्वाधार त राज्यकै दायित्व हो । जस्तो चन्द्रगिरिमा पानी ट्यांकरमा बोकेर आफैं लानुपर्छ, बिजुली र बाटो पनि आफैंले पु¥याएका छौं । यो त आधारभूत पूर्वाधार हो । यसलाई राज्यले नै दिनुपर्ने थियो । राज्यले नदिएका कारण निजी क्षेत्रले सबै पूर्वाधार बनाएको हो । यसरी आफैँ सबै पूर्वाधार बनाएर यसले दीर्घकालीन लाभ लिन सकिन्छ भन्ने हुँदैन् । तर पनि हामीले चन्द्रागिरि जानैपर्छ र उपयुक्त गन्तव्य पनि हो भन्ने त बनाउन सफल भएका छौं ।

त्यसो त चन्द्रागिरि एउटा पर्यटकीय हब बनाउने काममा सफल पनि हुँदै जानु भएको छ नि ?
यो एउटा पर्यटकीय गन्तव्य हो । यहाँ पुग्ने पर्यटकलाई एकदिन अड्याउन सक्ने गरी सबै सेवा त दिनुपर्छ । हामीले त्यहाँ पुग्ने पर्यटकलाई बस्ने र खाने सुविधा दिएका छौं । यसको पूर्वाधार बनाउँदै जाँदा पर्यटकीय हब बनेको हो ।

तारे स्तरको होटलको पूर्वाधार निर्माणचाहिँ कहाँ पुग्यो ?
हामीले एक सय कोठा क्षमताको पाँचतारे स्तरको होटल बनाउने गरी अगाडि बढिरहेका छौं । अहिले ५० कोठाको क्षमताको लागि तयारी पूरा भइसकेको छ । सफ्ट लन्च भएको छ । अबको एक डेढ महिनामा पूरै होटल तयार हुन्छ । पाँचतारे स्तरको लागि चाहिने स्वीमिङ पुल, स्वीट रूम, हेलिप्याडसहितको सुविधा हामीले त्यहाँ दिएका छौं ।

पाँचतारे होटलमा विदेशी लगानी चाहिँदैन पनि भन्छन नि किन हो ?
ठूला पूर्वाधारसहितको होटल रिसोर्ट बनाउन विदेशी लगानी आउनुपर्छ । सानो होटल र पर्यटकीय सेवा हामी नेपाली आफैंले दिन सक्ने भएकोले ठूलो लगानीको लागि त विदेशी लगानी आवश्यक नै पर्छ नि । विदेशी लगानीसँगै प्रविधि र सीप पनि हस्तान्तरण हुने भएकोले हाम्रो लागि आवश्यक पनि छ ।

बाहिरी देशसँगको पूर्वाधारलाई हेर्ने हो भने नेपालमा ठूलो स्थान लिने र पर्यटकीय हब बनाएर जाने अवस्था छ कि छैन ?
ठूलो पूर्वाधार बनाएर जाने ठूलो क्षेत्र नै चाहिन्छ । यसका लागि सहर वा सहर वरपर पूर्वाधार पुगेको ठाउँ हुनुपर्छ । सरकारले नै सहजीकरण गर्ने, वातावरण बनाइदिने, पूर्वाधार पु¥याउने काम गर्नुपर्छ । ठूलो स्थानमा एकीकृत सेवा दिने गरी पूर्वाधार बनाउन सकिए धेरै राम्रो पनि हुन्छ ।

पर्यटनका लागि प्राथमिकता दिने भनिएपनि लगानीका निम्ति वित्तिय संस्था यो क्षेत्रमा आकर्षित हुन नसकेका हुन् ?
हामीले क्रमशः यो क्षेत्रमा लगानी बढाइरहेका छौं । पर्यटनलाई पनि प्राथमिकताका क्षेत्रमा राखिएकोले यस प्रतिको लगाव बढेको छ । पर्यटकीय पूर्वाधार बनाउनमा वित्तीय संस्थाको ठूलो योगदान छ । ३० प्रतिशत सम्बन्धित संस्था वा व्यक्तिले लगानी गर्ने गरेको भएपनि बाँकी रकम त बैंक तथा वित्तीय संस्थाले नै गरेका कारण सम्भव भएको हो ।

पर्यटनमा हुने ठूला पूर्वाधारमा स्वदेशी पूँजी परिचालनको अवस्था कस्तो देख्नुहुन्छ ?
पर्यटन विकास र पर्यटकीय पूर्वाधार निर्माणमा हुने लगानी सामान रूपमा अगाडि जानुपर्छ । अहिले यो क्षेत्रमा लगानी रोकिएको त छैन् । पर्यटनको ठूलो पूर्वाधारको लागि विदेशी लगानी चाहिन्छ । सानोतिनो पूर्वाधारमा त यहीको लगानीबाट हुने गरेको छ । जस्तो रारा, फोक्सुन्डोमा हुने भनिएको ठूलो लगानीको लागि त विदेशी लगानी आवश्यक छ ।

नीतिगत समस्या पनि उस्तै छ नि ?
तपाइँले भनेजस्तै यो समस्यालाई चन्द्रागिरिसँगै जोडेर हेर्ने हो भने हामीलाई प्रक्रिया पु¥याउँन पाँच वर्ष लाग्यो । निर्माण भने जम्मा दुई वर्षमै भयो । हुनुपर्ने चाहिँ पाँच वर्ष निर्माण गर्न र दुई वर्ष प्रक्रिया पु¥याउनु पर्ने हो । तर, हाम्रोमा ठ्याक्कै उल्टो भएको छ । यसले गर्दा नीतिगत समस्या छ । अहिले लगानी सम्मेलतमार्फत एकद्वार नीतिबाट काम गर्ने भन्ने पनि छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । हामीले नेपालमा राम्रो वातावरण दियौ र लगानीमैत्री वातावरण बनायौ भने अवस्य पनि विदेशी लगानी सहज हुन्छ । उद्योग मन्त्रालयले लगानीमैत्री कानून बनाउन धेरै कानून संशोधन गरेको भनेको छ । यसले सहजता बनाउँदै जान्छ भन्ने छ ।

केवलकारलाई नियमन गर्नेचाहिँ कुन स्तरबाट भनेर टुङ्गो लागिसकेको छैन नि ?
राज्यले स्पष्ट गरिदिनुपर्छ । यसले लगानी गर्नेलाई पनि सहज हुन्छ । संविधान जारी भएपनि नयाँ संरचना बनेको र यसका विभिन्न तत्वले काम गर्दै गरेकोले केही समस्या देखिएको हो भन्ने मलाई लाग्छ । यसले राम्रोसँग काम गर्न थालेपछि समस्या हुँदैन।

कति वर्ष व्यवसाय चलाउने अनि सरकारलाई फिर्ता दिने भन्ने स्पष्ट व्यवस्था पनि चाहियो नि ?
पक्कै पनि चाहिन्छ । अहिले सरकारले गरिरहेको प्रयास पनि यसैमा हो । सरकारले कानून संशोधन गरेर व्यवसायमैत्री र सहजीकरण गर्दैै छ । अब कार्यान्वयन हुने ऐन कानूनले यसमा सहजीकरण पक्कै गर्छ ।

Leave a Comment