|
नेपाल पर्यटन वर्ष सन् २०११ सफल पार्न सरकार तथा निजी क्षेत्रबाट जुन रूपमा तयारी भए पनि राजनीतिक प्रतिवद्धता नहुञ्जेल सफल नहुने धारणा पर्यटन व्यवसायसँग सरोकारवालाहरूले राखेका छन् ।
आउँदो वर्षभरि मनाउन थालिएको नेपाल पर्यटन वर्षको औपचारिक तयारी शुभारम्भ अगामी फागुन १४ गते राजधानीको टुँडिखेलबाट गरिँदैछ । फागुन महिनामा आयोजना गरिने शुभारम्भ कार्यका लागि छलफल गर्न नेपाल पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा नागरिक तथा पर्यटन मन्त्रालयका प्रवक्ता लक्ष्मण भट्टराईले भन्नुभयो- सरकारले बजेट छुट्याएर मात्र हुँदैन, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले उपस्थित भएर लिखित रुपमा आगामी वर्ष बन्द, हडताल तथा चक्काजाम नगर्ने प्रतिवद्धता व्यक्त हुनुपर्छ । तब मात्र आगामी वर्षको १० लाख पर्यटक भित्र्याउने अभियान सफल हुन्छ ।
कार्यक्रममा सहभागी भएका सबै वक्ताले नयाँ गन्तव्यको खोजी र राजनीतिक दलका क्रियाकलापमा नै सरकारले अगाडि सारेकेा अति महìवाकाङ्क्षी कार्यक्रम सफल हुने नहुनेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीको गुनासो पनि राजनीतिक दलका क्रियाकलाप प्रति नै थियो । राजनीतिक दलहरूले नेपाल पर्यटन वर्षका बेला एक दिन पनि बन्द, हडताल नगर्ने प्रतिवद्धता नआउञ्जेल निजी क्षेत्र सरकारको यो कार्यक्रमप्रति विश्वस्त हुन नसक्ने बताउनुभयो ।
नेपाल पर्यटन वर्ष सफल पार्न भौतिक पूर्वाधार, प्रवर्द्धनलगायतका काममा ठूलो मात्रामा लगानी गर्नुपर्ने हुन्छ, यो अभियान सफल पार्न दलको सामूहिक प्रतिवद्धता आउँदैन भने लगानी किन गर्ने ?, अध्यक्ष जोशीको कथन थियो ।
महासङ्घका उपाध्यक्ष सुरज बैद्यका भनाईमा पनि दलहरूको लिखित प्रतिवद्धता नै नेपाल पर्यटन वर्ष सफलताको पहिलो आधार हो । केही प्रचलनमा आएका ठाउँलाई मात्र दृष्टिगत गरी पर्यटन वर्ष सफल नहुने र नयाँ गन्तव्यको खोजी गरिनुपर्नेमा उपाध्यक्ष बैद्यले जोड दिनुभयो । विमानस्थलमा हाम्रा कर्मचारीले देखाउने गलत व्यवहार सुधार हुन सकेन भने एकपटक नेपाल आएको पर्यटक जिन्दगीमा पुनः नेपाल नफर्किने अवस्थामा पुग्छ, यस्ता कुरामा सुधार गर्नु जरुरी छ, उपाध्यक्ष बैद्यको भनाइ छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस -नाटा) का सदस्य बच्चु श्रेष्ठले खप्तड, रारा जस्ता पर्यटकका लागि नयाँ र लोभ लाग्दा गन्तव्यको खोजी गर्न जरुरी रहेको बताउनुभयो । हालको गन्तव्यलाई ध्यानमा राखेर त १० लाख पर्यटकलाई घुमाउन सकिदैन, वैकल्पिक गन्तव्यको खोजी तत्काल गर्नुपर्छ, श्रेष्ठले भन्नुभयो ।
पर्यटन व्यवसायी छाया शर्माले विमानस्थलको पूर्वाधार विकास र पर्यटकलाई दिने हैरानीको तहलाई घटाउन सकेमा नेपाल पर्यटन वर्ष सफल हुने विचार व्यक्त गर्नुभयो । कर्मचारीको व्यवहार नै पर्यटकको लागि गरिने आतिथ्यताको पहिलो चरण भएकाले कर्मचारीको बानी व्यवहार सुधार आवश्यक छ, उहाँको भनाई छ । उता गैर आवासीय नेपाली सङ्घका सचिव तेञ्जी शेर्पाले पर्यटकलाई भित्र्याउने कार्य निकै जटिल भएकाले सरकार र निजी क्षेत्रको सहभागितामा मात्र यो कार्य सफल पार्न सकिने बताउनुभयो ।
हाल नेपालमा करिब पाँच लाख पर्यटकका लागि होटल व्यवस्थापन गर्न सकिने बताइएको छ । पर्यटकको आवागमनलाई हेरेर राजधानी तथा बाहिर रहेका अपार्टमेन्ट तथा हाउजिङलाई पनि भाडामा लिएर व्यवस्था गर्न सकिने नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले जानकारी दिनुभयो ।
|