» नयाँ वर्षको पहिलो दिनको नेपाल बन्दले पर्यटन व्यवसायी चिन्तित
नेपाल सरकारले सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित पर्यटन भ्रमण वर्ष घोषणा गरिसकेको सन्दर्भमा बारम्बारको नेपाल बन्द र हडतालले पर्यटन व्यवसायीलाई भने निराश बनाएको छ ।
नेपालको अर्थतन्त्रको प्रमुख मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रलाई नै प्रभावित पार्ने गरी सन् २०१० को पहिलो दिन नेपाल बन्दको घोषणा गरिएपछि पर्यटन व्यवसायी चिन्तित भएका छन् ।
अङ्ग्रेजी महिनाको नयाँ वर्षको पहिलो दिनमा नै नेपाल बन्द अशुभ भएको भन्दै पर्यटन व्यवसायीले बन्दका आयोजकप्रति आक्रोशसमेत व्यक्त गर्नुभएको छ । यसबाट नेपालमा नै नयाँ वर्ष मनाउन भनेर आएका विदेशी पर्यटक र विशेष कारण घर र्फकन नपाएका पर्यटकलाई निकै दुखित बनाएको उहाँहरूले बताउनुभयो ।
नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट -नाटा) का अध्यक्ष रामकाजी कोनेले पहिलो दिन भएको नेपाल बन्दलाई व्यङ्ग्य गर्दै भन्नुभयो- पर्यटक चरा जस्तै हुन्, रूखको तलबाट पटका पड्काइ दियो भने चरा फेरि त्यो रूखमा आउँदैन । नेपालको प्राकृतिक सुन्दरताबाट प्रभावित भएर एक जना पर्यटक ३० देखि ४० पटकसम्म दोहोर्याएर आउने गरेको बताउँदै उहाँले बारम्बारको बन्दले समग्र पर्यटन क्षेत्र नै धरासायी हुने उहाँको धारणा छ ।
लामो योजना बनाएर नेपाल आउने पर्यटक बन्दको कारणले कोठामा थुनिन बाध्य भएको भन्दै अध्यक्ष कोनेले देशलाई नै नकारात्मक असर पुग्ने गरी हुने बन्द, हडताललाई अपराध घोषणा गर्नुपर्ने बताउनुभयो ।
रिपोर्टस क्लबद्वारा शुक्रबार यहाँ आयोजना गरिएको कार्यक्रममा टानका अध्यक्ष सीताराम सापकोटाले शुक्रबार गरिएको नेपाल बन्दले समग्र पर्यटन क्षेत्रसँगै विशेष रूपले पदयात्रा पर्यटनलाई क्षति पुगेको जनाउनुभयो । यस बन्दले सन् २०११ को पर्यटन भ्रमण वर्ष सफल हुनेमा आशङ्का प्रकट गर्दै उहाँले बन्दले विदेशीमा नकारात्मक सन्देश गएको बताउनुभयो ।
टानका पूर्व अध्यक्ष ज्योति अघिकारीले सन् २००९ को अन्त्यमा छ लाख पर्यटक पनि नाघ्न नसकेको भन्दै यस्तो परिस्थितिमा १० लाख पर्यटक पुग्न कठिन हुने जनाउनुभयो । नागरिक तथा उड्डयन मन्त्रालयका सचिव नागेन्द्र घिमिरेले पर्यटन भ्रमण वर्ष सन् २०११ लाई सफल पार्न सबै पक्षलाई सक्रिय भई लाग्न आग्रह गर्नुभयो ।
उहाँले पर्यटन भ्रमण वर्ष सन् २०११ लाई सफल बनाउन सरकारले विशेष ध्यान पुर्याउन जरुरी भएको बताउनुभयो । होटल व्यवसायी वसन्त मिश्रले सत्तामा हुँदा बन्द नगर्ने र सत्ताबाट बाहिर गएपछि बन्द गर्ने परिपाटीको पनि अन्त्य हुनुपर्ने जनाउनुभयो । उहाँले सन् २०१० को नयाँ वर्षमा बन्द गर्नु अपराध भएको भन्दै यसले होटल व्यवसायलाई पनि असर पारेको बताउनुभयो ।